चैत १०,
भक्तपुर । सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को सक्छ ? तर केहि युवाहरु आगोको भुंग्रोमा नाँचे भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर राजधानी नजिक रहेको सुर्र्यबिनायक नगरपालिका वडा ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका २३ युवाहरुले यसरी नै आगोको भर्भराउदो भूग्रोमाथि नाचेर सबैलाई आश्चर्य चर्कित बनाएका छन् । यसरी नाचेको दृश्य हेर्न यस क्षेत्रका बासिन्दाहरुले नडराईकन हेरेका थिए । एक सय आठ भारी दाउराको भर्भराउदो भूग्रोमाथि एक दर्जन युवाहरुले नाचेर सबैलाई चकित तुल्याएका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा ८ सिपाडोल स्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रहरुका परम्परादेखि आएको यो कामलाई खली खाने भन्दछन् । गाउँका सबै युवाहरुलाई एकै थलोमा जम्मा गरि महिनौ लगाएर तान्त्रिक बिधिबाट कामेका डाग्रेहरुलाई मात्रै भर्भराउँदो आगोमा नचाएर खली खुवाईने गरिन्छ । लडेर, डुबेर, डडेर, विषसेवन वा अकालमा ज्यान गुमाएका आत्माको चिर शान्ति र बाँकी जिवीत रहेका सन्ततीहरुको सुख र समृद्धिका लागि भन्दै खली खुवाईने गरेको स्थानीयहरु बताउँछन् । भर्भराउदो भूग्रोमाथि नाचेर खली खाई भट्टराई खत्रीका कुलायन पुजामा सहभागी बनेका कलिला डाग्रेहरुले आफूहरुलाई पहिले सुरुमा डर लागेपनि मज्जाले आगोमा नाच्न सकेको बताउँछन् ।
एक महिनादेखि पुजा र ध्यानमा बसेपछि साईत जुराएर खलीको लागि युवाहरुलाई तयार गरिन्छ । खली खुवाउने दिन बेलुका डाँग्रेहरुलाई तयार पारी १ सय ८ भारी दाउरा बालेर बनेको भुंग्रोमा नाच्न लगाइन्छ । नाच्दा सबै भुंग्रोलाई खरानीमा परिणत गर्नुपर्छ । खरानी नबन्दासम्म डाँग्रेहरु र गुरुहरु भुंग्रामा नाचिरहन्छन । जव खरानी हुन्छ अनि विभिन्न नाममा थापिएको देवि देवतालाई बली दिईन्छ । बली पश्चात डाँग्रेहरुलाई बत्ती खुवाईन्छ र खली खुवाउने कार्यक्रम समाप्त हुन्छ । मुलुकका बिरलै स्थानमा गरिने यो प्रचलन प्रति पढे लेखेका नागरिक पनि बिश्वास गर्न बाध्य छन् । आगोको भर्भराउदो भुग्रोमाथि नाच्न सक्ने डाड्ग्रेहरुको चर्तिकलाले सबैलाई बिश्वास गर्न करै लगाएको छ ।
उनीहरुले आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि वायू आएको मानिन्छ । वायु उर्ताने गुरु धर्मेन्द्र विष्र्टले यो परम्परा विगतदेखि नै चल्दै आएको बताए । उनले कुलभित्रका कोही ब्यक्तिले आत्महत्या वा अकालमा मृत्यु भएको खण्डमा कुलभित्र अशान्ति हुने र यसो गरेको खण्डमा कुलका सबैलाई शान्ति मिल्ने बताए । त्यस्तै सोही कुलका पुराना धामी कुमाल भट्टराई खत्रीले नयाँ बायु निकालेपछि गोत्रभित्रका परिवारका सदस्यतमा शान्ति मिल्ने भएकाले यस्तो गर्नुपरेको बताए। गोत्रभित्र धेरैलाई काम्ने, छोप्ने समस्या आएको र जुनसुकै उपचार गरेपनि निको नभएको कारण यो समस्या कुल रिसाएकै कारण भएकाले खली हालेर शान्ति मिल्ने भएकाले समेत खली परम्पराले निरन्तरता पाएको बताए ।
परम्परातको निरन्तरता र भावी पिडिलाई जानकारी दिने माध्यम समेत बनेको भन्दै उनले भने खली परम्पराले कुल गोत्रमा शान्तिको वातावरण बनाउनुका साथै सौहार्दता समेत काय गर्न मदत पुगेको बताए ।आगोको भुग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण धामीहरुका लागि यो सम्भब रहेको अर्का धामी युवराज भट्टर्राइ खत्रीले बताए । २१ औं शताब्दीका मान्छे विज्ञानमा विश्वास गर्छन् । तर, कतिपय चलनले भने विज्ञानलाई नै चुनौती दिइरहेका छन् । जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ । यसैमध्येको नेपाली समाजमा रहेको एउटा परम्परा खली खाने हो । -मोहन सिपाडोल