चैत ५,
काठमाडौँ नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छन् । डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि उनी राजनीतिमा लागेकी हुन् । प्रहरी सेवामा रहँदा चर्चाको शिखरमा रहेकी उनी अवकाशपछि गुमनाम जस्तै थिइन् । सार्वजनिक सभा समारोहमा समेत नदेखिने उनी अब राजनीति मार्फत् चर्चामा आउँछन् कि आउँदैनन् त्यो हेर्न बाँकी छ ।
थापालाई डीआईजी रहँदा भावी आईजीपीको रुपमा समेत हेरिएको थियो । यद्यपि, उनी आईजीपी भएको अवस्थामा पनि थोरै समय मात्रै आईजीपी बन्थिन् । त्यसबेला आईजीपी बन्न उनले चर्को लविङ पनि नगरेकी होइनन् । तत्कालीन आईजीपी कुवेरसिंह रानाको उत्तराधिकारीका रुपमा हेरिएका उनलाई उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले पछि पारेका थिए ।