ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

87

चैत १,
डोटी -डाटीको एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो । गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रुपमा यातयात सेवा उपलब्ध गराउने छौँ ।”

परिचयपत्रका आधारमा उनीहरुले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ । यसभन्दा पहिले जिल्लाका शिखर नगरपालिकाले पनि ज्येष्ठ नागरिक र पत्रकारलाई निःशुल्क रुपमा यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

“ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराएपछि स्थानीयवासी खुशी भएका छन्”, पूर्वीचौकी गाउँपालिका–१ का चक्रबहादुर कठायतले भन्नुभयो, “गाउँपालिकाले राम्रो निर्णय गरेको छ, जो आफैँमा स्वागतयोग्य काम हो ।”

उक्त गाउँपालिकाले केहि महिनाअघि मात्र स्थानीयवासीको सहजताका लागि लाखाँै खर्चेर दुई वटा बस सञ्चालनमा ल्याएको थियो । ती दुबै बस अछामको चौखुट्टेदेखि दीपायलको पिपल्ला बजारसम्म सञ्चालन भइरहेका छन् । गाउँपालिकाका बसहरुले खासै राम्रो फाइदा कमाउन नसके पनि स्थानीयवासीलाई निकै राहत पुगेको सो गाउँपालिकाका अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “बस सञ्चालनले खासै आम्दानी त गर्न सकेको छैन तैपनि गाडी नपाएर हैरान हुने स्थानीयवासीलाई भने राम्रै सेवा पुगेको छ ।” डोटीमा अहिले दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाले आफ्नै निजी बसहरु किनेर सञ्चालनमा ल्याएका छन् ।-रासस