विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक : नेता पाण्डे

67

फागुन २६,
गोरखा -राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्ने दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

सिके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भन्नुभयो ‘‘सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गर्नुभएको कुराले मेल नखाएको र फरक÷फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।’’नेपाली काङ्ग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उहाँले पार्टीभित्रका केही नेताले विज्ञप्ति निकाल्दैमा विशेष महाधिवेशन नहुने बताउनुभयो । नेपाली काङ्ग्रेसमा अहिले चाहिनेभन्दा बढी लोकतान्त्रिक अभ्यास हुने गरेको छ तर त्यसले पार्टीलाई फाइदा नपुग्ने नेता पाण्डेकोे भनाइ थियो ।

विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, हामीसँग अझै एकवर्ष समय बाँकी समय छ तर महाधिवेशनका लागि अनि हतारो किन भन्दै उहाँले सानो एजेण्डामा पनि वक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा विभाजनको रेखा कोरिने भएकाले यस्तो प्रवृत्ति अपनाउनु राम्रो होइन भन्नुभयो । रासस