फागुन २२,
नेपालगन्ज -अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मंगलबार अबेर साँझ बाँकेका तीनवटा सरकारी कार्यालयमा छापा मारेर घुस सहित दुईजना कर्मचारीलाई नियन्त्रण लिएर अनुसंधान अघि बढाएको जनाएको छ । अख्तियार नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले बिशेष सुराकीका आधारमा गएको टोलीले नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण चन्दका साथबाट ५२ हजार नगद र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिनोदकुमार श्रीबास्तबका साथबाट ३५ हजार बरामद भएको बताए ।
उनले नेपालगन्ज भन्सार कार्यालयका नासु चन्दले नेपालगन्ज भन्सार कार्यालय हुँदै आयात हुने सामानको सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५२ हजार नगद रिश्वत लिएको अवस्थामा र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत श्रीबास्तबले गुणस्तर प्रमाणिकरण गरिदिए बापत सेवाग्राहीको काम सम्पन्न भएपछि ३५ हजार लिदै गर्दा रंगेहात नियन्त्रणमा लिएको जानकारी दिए ।
रिश्वतसहित अख्तियारको नियन्त्रणमा परेका दुबैजना माथि अनुसंधान सुरु भएको कार्यालय प्रमुख गैरेले बताए । यसैगरी अख्तियारको सोही टोलीले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा समेत छापामारेको छ । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) मा चलखेल गरेको भन्दै त्यहाँबाट केही कागतजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए । उनले भने–‘सवारी चालक अनुमति पत्रको विषयमा निक्कै जनगुनासो आएपछि हामीले अनुसंधानको लागि केही शंकास्पद कागजपत्र नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छौ ।’ उनले सवारी चालक अनुमति पत्र परिक्षामा व्यापक अनमियता भएको जनगुनासो आएपछि अनुसंधानको लागि कागजात नियन्त्रणमा लिएको स्पस्ट पारे । Rajdhani