उपराष्ट्रपति पुन र अमेरिकी राजदूत बिच शिष्टाचार भेट, ‘नेपालमा लगानी गर्न आग्रह’

90

फागुन २२
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियम लगानीमैत्री बनेका छन्, लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आऊन्, लगानी गरुन् भन्ने हाम्रो आग्रह छ ।” उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँले मिलिनियम च्यालेन्ज कोपरेशन ९एमसिसी० सम्झौताबाट नेपालले धेरै लाभ लिने बताउँँदै त्यसका लागि धन्यवाद दिनुभयो । नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धि हो, नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।”

भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मूल्य र मान्यतामा आधारित रहेको बताउनुभयो । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँदै उहाँले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वका बारेमा निर्णय लिन सकोस् भन्ने अमेरिकाको धारणा रहेको बताउनुभयो ।

“अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताका आकाङ्क्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ”, उहाँले भन्नुभयो, “नेपालले सार्वभौम रुपमा आफ्नो निर्णय गर्न सकोस्, स्वतन्त्र रुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस् ।” राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताउँदै एमसिसी सम्झौता हुनु यसको प्रमाण हो भन्नुभयो । उहाँले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताउनुभयो ।-रासस