मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ति

107

फागुन १७
पोखरा – हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापति रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए । मन्त्री अधिकारीको मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ। आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज दिउँसो पशुपति आर्यघाटमा आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार दाहसंस्कार गरिएको हो ।