फागुन १७,
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन हुनु भएका सातै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदन पनि व्यक्त गरेको छ । बैठकले सो हेलिकप्टर दुर्घटनामा परी निधन भएकाका परिवारको अवस्था र आवश्यक्तालाई ध्यानमा राखेर उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई अनुरोध गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता ओलीले मन्त्री अधिकारीलाई आँखामा राखेपनि नबिझाउने नेताको रुपमा स्मरण गरे । उनले प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री अधिकारीको निधनबाट आफू अत्यन्तै दुःखी भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले वाइडबडी खरिद प्रक्रियामा अधिकारी निर्दोष रहेको समेत बताए । अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उहाँको बद्नाम गर्न खोजको बताउँदै उनले भने, ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो’
प्रधानमन्त्री ओलीले भने ‘उहाँले कुनै लोभलालचका लागि होइन, उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ, जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ ।’प्रधानमन्त्री ओलीले सो हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका मन्त्री अधिकारीसहित सातै जनाको परिवारको अवस्था र आवश्यक्तालाई हेरेर सरकारले आवश्यक आर्थिक सहायता उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।