फागुन १४, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा १ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोटका सूर्य भुजेललाई मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । रातोपाटीमा जनाए अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भइ काठमाडौंमा बस्दै आएका उनलाई आफन्तको बिहेमा सहभागि भएको अवस्थामा कलंकीबाट पक्राउ गरिएको बताइएको छ ।
महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीले बम विस्फोटमा उनकै मुख्य भूमिका रहेको दाबी गरेको छ। महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ । उनी नेकपा महासचिव नेत्रविक्रम चन्द नेतृत्व पार्टीको युवा संगठनमा आवद्ध छन् । घटनामा आफ्नो पार्टीको संलग्नता रहेको यसअघि नै विप्लव नेतृत्वको नेकपाले बताइसकेको छ भने सरकारले पनि सो घटनामा विप्लवकै संलग्नता रहेको बताएको थियो । विगतमा तत्कालीन माओवादी केन्द्रमा आवद्ध उनी केही वर्षयता विप्लवको पार्टीमा सक्रिय रहेको बताइन्छ । -Ratopati













