महानगर प्रमुख रेनु दाहालले आफूसँग समन्वय नगरेको उपप्रमुखको आरोप

174

१४ फागुन
काठमाडौँ -भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।” महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उहाँले अरोप लगाउनुभयो । स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो थियो ।-रासस