देउवाको प्रश्नमा , शेखरको जवाफ–’म को हुँ मलाई हेक्का छ’

96

फाल्गुन १३,
विराटनगर — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बहुमतले दम्भमा पार्टीको १४ औं महाधिवेशन समयमा नगरी दुईवर्ष आफ्नो कार्यकाल थप्ने तयारीमा रहेको आरोप लगाएका छन् । विराटनगरमा रहेको आफ्नो निवासमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कोइरालाले देउवाको कार्यकाल एक वर्षमात्र बाँकी रहेको उल्लेख गर्दै बहुमतको दम्भमा थप दुईवर्ष थप्ने रणनीतिमा रहेको दाबी गरे । कांग्रेस अहिले सांगठानिक रुपमा कमजोर भएको बताउँदै कोइरालाले सभापतिले आफ्नो कार्यकाल थप गरे पार्टी झन् कमजोर हुने बताए ।

उनले आफू पार्टीको १४ औ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने वा नहुने खुलाएनन् । ‘म साथीहरुसँग परामर्श गरिरहेको छु,’ कोइरालाले भने,’ समय निकै बाँकी छ । समय आएपछि बताउँला ।’ कोइरालाले कांग्रेस कमजोर भएको र संगठन शून्य बराबर भएको भन्दै यस्तो अवस्थामा महाधिवेशन समयमा नगरे पार्टी झन् कमजोर हुने बताए । ‘पार्टीले स्थानीय र संघीय निर्वाचनमा हारेको छ । हारको जिम्मा नेतृत्वले लिनुपर्छ आफूलाई अनुशासन र कारवाहीको कुरा गरे भने मलाई केही भन्नु छैन,’ उनले भने ।उनले कांग्रेस कोइरालाहरुको मात्र नभएको बरु सबैको योगदान र रगत बगाइबाट पार्टी बनेको बताए ।

देउवाले ‘कांग्रेस कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो र’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे कोइरालाले भने, ‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन् बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छुु भन्दै पार्टी सभापति देउवाको कस्तो राजनीतिक संस्कार रहेछ भन्ने उनको बोलाईले देखिएको टिप्पणी गरे ।

‘देउवाले मेरो र कोइराला परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’ उनले भने ‘वीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको कांग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिँदा राजनीतिक प्रस्तावनामा यसलाई नजअन्दाज गरिएको छ ।’

गिरिजाप्रसादको योगदान विश्वले सम्झिरहेको छ तर यहाँ भने इतिहास मेटाउन खोजिएको भन्दै बहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफू काठमाडौंमा रहेको भए ‘नोट आफ डिसेन्टु लेख्ने बताए । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एकपटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए ।

कोइरालाले सरकारका क्रियाकलापहरू जनविरोधी देखिएको टिप्पणी गरे। भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइड बडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्दत रहेको टिप्पणी गरे। भने, ‘वाइड बडीमा जो–जो तानिए पनि कारबाही हुनुपर्छ। अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ।’