सार्क क्षयरोगमा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण

159

नेपाल समाचारपत्र दैनिक
फागुन १२, काठमाडौं । नेपालीमा उखानै छ, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने । वर्तमान सन्दर्भमा त्यो उखान सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र ठिमी भक्तपुरसँग ठ्याक्कै मिल्छ । यहाँसम्म कि पछिल्लो समयमा सो कार्यालय ‘एसएलसी पास उपसचिव, डिग्री पास पियन’ भएको सार्कस्तरीय अफिस भनेर चिनिन थालेको छ । एसएलसी उत्तीर्ण सक्कली र त्यसपछिका नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा दोलखा, फस्कुका कृष्णबहादुर बस्नेत विगत २२ वर्षदेखि उपसचिव सरहको प्रशासन प्रमुख भएर बसेका छन् । स्नातकोत्तर उत्तीर्ण गरी सुब्बा, खरदार र कार्यालय सहयोगी बन्न बाध्य शिक्षित कर्मचारीमाथि उनले राज गरिराखेका छन् । त्यति मात्रै नभई उनले सोही तहको तलब, सेवा, सुविधा उपभोग गर्दै आइरहेका छन । उनी विगत २२ वर्षदेखि केन्द्रबाट मासिक १ हजार अमेरिकी डलर अर्थात् करिव सवा लाख रुपियाँ तलब थाप्दै आएका छन् तर सोही केन्द्रका डिग्री पास तर तल्लो तहका कर्मचारीहरु मासिक ३ सय अमेरिकी डलर अर्थात् करिब ३५ हजार रुपियाँमा चित्त बmुझाउन बाध्य छन् ।

जतिसुकै राम्रो काम गरे पनि कुनै पनि निजी या सरकारी कार्यालयमा अधिकृत हुन या पदोन्नतिका लागि कम्तिमा पनि स्नातक उत्तीर्ण हुनुपर्छ । तर बस्नेतले भने नेपालबाट एसएलसी मात्रै उत्तीर्ण गरेको र प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र भारतको उत्तर बंगालस्थित उत्तर बंगाल विश्वविद्यालयअन्तर्गत दार्जीलिङको राजाराम मोहनपुर क्याम्पसबाट ल्याएको अस्पतालका असन्तुष्ट कर्मचारीको आरोप छ । सो विश्वविद्यालयअन्तर्गतका कुनै पनि क्याम्पसको शैक्षिक प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म मान्यता दिएको छैन । उनको नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविनको उजुरीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पहिलोपल्ट गत जेठ २८ गते दर्ता नं १९७५२० र दोस्रोपटक पुस २५ गते दर्ता नं १४७७३० मा दर्ता गरिएको छ ।