कविताः सपनाको स्वीजरल्यान्ड

113

चन्द्र एम.वि.’अविरल’

भोको पेट सँग
लुकामारी खेल्दै बसेका जनता
रगत ले पोतिएका घरहरु
बारुद को भरमा अडेको शक्ति
कालो बादल मडारीएको आकाश जस्तै
धुम्म परेको अनुहार अनि
पानी भरिएको कचौरा जस्तै
टिलपिल टिलपिल आँखाहरु
देशकै निम्ति बलि चड्न तयार
एकहुल युवाहरु को भिड
एउटा तस्बिरमा सम्मोहित गरेर
देखाइएको मेरो देश
सपनाको स्वीजरल्यान्ड।

मेरै निम्ति आएका
एक हुल लालसेनाहरुले
अब यो देश हामी बनाउँछौं
देशमा शान्ति आउँछ
जनता स्वतन्त्र हुनेछ
समृद्धि विश्वकै उत्कृष्ट हुनेछ
यस्तै ढाडस पाएपछि
एक झप्को दिउँसै निदाउन साथ
देखिएको सपना वाह मेरो देश
सपनाको स्वीजरल्यान्ड।

हिजो ज्यान बचाउन
परदेश पसेको युवा
देशमा शान्ति आयो
शासन व्यवस्था फेरियो
सुने लगत्तै फुरुंग परेर
बुढा बा आमालाई
कोसेली पोको बोकेर
जहाज बाट देश ओर्लेपछि
खोसिएको कोसेली पोको
हारगुहार गर्दै बोल्न खोज्दा
धनाड्यले धरौटी को नाममा
खरिदबिक्री गर्ने कानुन लगाएर
गरिब थुनिने गणतन्त्र
वाह मेरो देश
सपनाको स्वीजरल्यान्ड।

एक शासक हटाएर
सयौं शासक शोषक पसेपछि
केही अन्धभक्त हरुलाई झोला बोकाएपछि
मिलेमतोमा दाम मिलाएर पक्ष प्रतिपक्ष बनेपछि
प्रतिपक्षले बन्दहड्ताल गाडी जलाउनु धर्म भनिनेछ
पक्षले पहिरोमा रुख उम्रनु लाई चमत्कार भनिनेछ
सडकमा हावाले धुलो उडाउनु विकास भनिनेछ
कुशल युवा बिदेशीनु लाई बेरोजगारी हल भनिनेछ
जनता लाई स्वतन्त्र बोल्न नदिनु सुशासन हुनेछ
बलात्कारी हत्यारा भ्रष्टाचारी धरौटीमा छुट्न पाउँनु
तिम्रो कानुनी प्रावधानमा मानवअधिकार हुनेछ
वाह तिमीले दिउँसै सपनामा देखाएको
मेरो गणतान्त्रिक देश
सपनाको स्वीजरल्यान्ड।

-फिदिम-१, पाँचथर।