मातापिताको सम्मान गर्दै पूजा समारोह आयोजना

81

फागुन २,
जनकपुरधाम । संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आज यहाँ आमाबुबाको पूजन समारोह आयोजना गरिएको छ । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो समारोहमा करीब ५०० एक आमाबुबालाई छोराछोरीले पूजा गरेका थिए । यसअघि केन्द्रले आदर्श संस्कार शिविरअन्तर्गत सरस्वती मुद्रा, आदर्श जीवनचर्या, मनोविज्ञान, शरीर विज्ञान, आहार, स्मरण बढाउने विधि, स्वर विज्ञान योग प्रशिक्षण दिइएको थियो । समारोहमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले वैज्ञानिक आविष्कारसँगै एकातिर सुखप्राप्तिमा वृद्धि भएको देखिएको छ भने अर्कातिर उपेक्षा, एक्लोपन, स्वार्थको चपेटामा परी आमाबुबालाई घृणा गर्ने व्यवहारमा वृद्धि हुँदै जानु चिन्ताको विषय हो भन्नुभयो ।

उहाँले सुविधा उपयोगसँगै चरित्र निर्माणमा पनि ध्यान दिनु जरूरी छ भन्दै गराइमा देखिएको भिन्नता संस्कार, संस्कृतिको उपेक्षा हो भन्नुभयो । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आधुनिकताको होडमा सामाजिकता, पारिवारिकता, सद्भाव, सहिष्णुतालाई वास्ता नगर्ने प्रवृत्ति देख्नु दुःखद् भएको प्रसङ्ग उल्लेख गर्नुभयो । केन्द्रका योग गुरू विनय भाइले संस्कार, संस्कृति एवं जीवनशैल्किो पहिचान मण्डित गर्न यस किसिमको जागरणमूलक अभियान घरघरमा खाँचो छ भन्दै केन्द्रले १५ दिने परिक्रमा बासस्थलमा श्रवण कुमार मन्दिर निर्माणको योजना राखेको बताउनुभयो । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले संस्कृति, संस्कारलाई उपेक्षा गरिएका कारण पारिवारिक कलह र आपराधिक प्रवृत्तिमा वृद्धि भएको धारणा राख्नुभयो । पतञ्जलि योग समिति धनुषाका अध्यक्ष इन्द्रदेव मण्डलले समाजमा आमाबुबालाई अपमान गर्ने घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । Rss