चावहिल मालपोतमा मन्त्री अर्यालको छड्के

99

२१ माघ,
काठमाडौं सोमबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चाबहिल मालपोत कार्यालय सार्न निर्देशन दिएकी छन् । कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले अर्को ठाउँमा सार्ने विकल्प खोज्न कार्यालय प्रमुख पदमप्रसाद अर्याललाई निर्देशन दिएकी हुन् ।

सेवाग्राहीलाई सास्ती र कर्मचारीलाई पनि काम गर्न समस्या भएकाले आफ्नै भवन नबनेसम्म अर्को भवनको विकल्प मन्त्री अर्यालले निर्देशन दिएकी हुन् । मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताएका थिए । उनले मालपोत कार्यालय आफ्नै भवन ठेकेदारले समयमा नबनाउँदा समस्या भएको बताएका थिए ।

सोमबार साढे १० बजे अनुगमनमा पुगेकी मन्त्री अर्यालले मालपोत कार्यालयलाई कागजरहित (पेपरलेस) बनाउन मन्त्रालयले काम गरिरहेको बताइन् । ‘हाम्रा कार्यालयको सेवामा प्रविधिको प्रयोग गर्ने भनेर डिजिटल सिस्टम अगाडि बढाएका छौं । यसलाई बिस्तार गर्दै गुणस्तर वृद्धि गरेर हाम्रा सेवालाई आइटीमै लैजाने हो,’उनले भनिन् ।

अनुगमनका क्रममा मन्त्री अर्यालसहितको टोलीले सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको गुनासो गरेका थिए । अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या भएको बताएका थिए ।

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए ।-अनलाइनखबर