२० माघ,
विराटनगर -विराटनगर महानगरपालिका–बलुवाई की ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विराटनगर महानगरपालिका-८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।
भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।
पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।
घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन । खोलामा शव फ्याकेका कारण प्रमाण जुटाउन समय लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुलाई आइतबार नै सार्बजनिक गर्ने तयारी रहेको उनले बताए ।-अनलाइनखबर