कर्णाली प्रदेश; ४६ प्रतिशत बजेट पर्यटन क्षेत्रमा

103

काठमाडौं,१७ पुस कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो ।

“सङ्घ र प्रदेश सरकारले कुल रु एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेका छन्”, मन्त्री बुढाले भन्नुभयो, “यद्यपि शुरुको वर्ष र कर्मचारी अभावले नियमित विकासका गतिविधि सञ्चालनमा प्रभाव परेको छ ।” उहाँले कर्णाली सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भ गरेपश्चात् यहाँ पर्यटकको चहलमा पहलमा वृद्धि आएको बताउनुभयो ।

“गत भदौदेखि मङ्सिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका छन्”, उहाँले थप्नुभयो, “कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन गर्न त बाँकी नै छ ।” रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै उहाँले प्रत्येक जिल्लामा एक÷एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले समृद्धि पर्यटनले निर्धारण गर्ने कुरामा जोड दिनुभयो । “कर्णालीको जलविद्युत, जडीबुटी, कृषि पर्यटनको पनि त्यतिकै सम्भावना छ”, उहाँले भन्नुभयो, “धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक पर्यटन प्रवद्र्धनमा मन्त्रालय लागि परेको छ ।” उहाँले आगामी दिनमा पर्यटन पत्रकार महासङ्घसँग सहकार्य गरेर पर्यटनका गतिविधि अघि बढाउने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले योजना र लक्ष्यअनुसारको प्रगति हासिल गर्न कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । -रासस