पुस ४,
रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ । ‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६ गतेदेखि सञ्चालन हुने सो सडक खाना महोत्सवमा नेपाली परिकारका साथै भारतीय, थाइल्याण्ड, चाइनिजलगायतका विभिन्न देशका खानाका परिकारका कक्ष राख्ने तयारी भइरहेको लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।
“सडक खाना महोत्सव आयोजना गर्दा पर्यटकको बढी सहभागिता र आकर्षण रहन्छ, यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाउँछ,” उहाँले भन्नुभयो । खाना महोत्सवमा ७० भन्दा बढी कक्ष राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा बिराहा नाच, स्थानीय जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सङ्घले जनाएको छ । -रासस