१२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

167

मंसिर २४,
लहान । मानसिक रोगका कारण १२ वर्षदेखि फलामे साङ्लोमा बाँधेर राखिएका सप्तरीका एक व्यक्तिको उद्धार गरिएको छ। अग्निसाइर कृष्णासवरन गाउँपालिका १ का ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार गरिएको हो। सप्तरीका पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि मनोहर पोखरेलको पहलमा मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रमको सहयोगमा चौधरीको शनिबार उद्धार गरिएको हो। पछिल्लो १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको विषयमा समाचार सार्वजनिक भएपछि आश्रमको सहयोगमा पीडितको उद्धार गरिएको पोखरेलले बताए। पोखरेलका अनुसार उद्धार गरिएका चौधरीलाई उपचार तथा स्याहार सुसारका लागि हेटौँडास्थित आश्रम पठाइएको छ। मानसिक रोगी चौधरीलाई फलामको साङ्लोले बाँधेर राखेको समाचार सार्वजनिक भएलगत्तै आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी, साधक सन्त लामासहितको टोली शनिबार सप्तरीस्थित चौधरीको घर पुगेको थियो। चौधरीको उद्धारका लागि प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दास, अग्निसाइर कृष्णसवरण गाउँपालिका अध्यक्ष परशुराम चौधरी, इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा चौधरीको घर पुगेका थिए। सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चौधरीको उपचारका लागि स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आश्रमका बडतौलाका अनुसार मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीले चौधरीको नियमित उपचार गर्नेछ। लामो समयदेखि साङ्गलोमा बाँधिएकाले मानसिक रोग जटिल बनेको बताउँदै अञ्चल अस्पतालका प्रमुख मेसु डा। दासले चौधरीको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने बताए। श्रीमती ४१ वर्षीया सुशीलादेवी चौधरीले रकम अभावका कारण पतिको उपचार गर्न नसकेको गुनासो गर्दै सहयोगका लागि आग्रह गर्दै आएकी थिइन्। उनीहरूका तीन छोरी छन्।