मंसिर २४,
काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतका लागि नीलाम्बर आचार्यसहित मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम स्वीकृत गरेको हो । युएईका लागि अनुमोदित राजदूत कृष्णप्रसाद ढकालले युएईमा कार्यरत नेपालीको सुरक्षा, नेपालमा लगानी भित्र्याउनेलगायतका काममा विशेष जोड दिने बताए ।
चार देशकै लागि संसदीय सुनुवाइबाट अनुमोदित राजदूतले मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । उनीहरूले वैदेशिक रोजगारमा गएका नेपालीको सुरक्षा, संकटमा परेकाहरूको उद्धार तथा नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । मलेसियाका लागि अनुमोदित राजदूत उदयराज पाण्डेले मलेसियाको रोजगारलाई व्यवस्थित बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए । नेपालको पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भन्दै पाण्डेले भने, ‘मलेसियाका मूलधारका मिडियाका केही पत्रकारलाई नेपाल घुमाउन ल्याउँछु । उनीहरूले यहाँ घुमेर आफ्नो मिडियामा प्रकाशन, प्रसारण गर्छन्, यसो गर्दा नेपालबारे जानकारी जानेछ ।’
इजरायलका लागि अनुमोदित राजदूत अञ्जान शाक्यले इजरायल र नेपालबीचको कृषि क्षेत्रको विकास, साझेदार, मुलुकको हित तथा नेपालीको गरिमा उच्च बनाउन प्रयत्न गर्ने बताइन् । संसदीय सुनुवाइबाट अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।