शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छ ः प्रम ओली

64

मंसिर १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख गर्नुभयो ।

‘‘हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ । मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ । हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ’’, उहाँले भन्नुभयो । ‘‘हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु पर्र्दैन, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ’’, उहाँले जोड दिनुभयो । -रासस