आइतबारको मन्त्रिपरिषद बैठक …यस्ता छन् सात निर्णय

88

असोज २१,
काठमाडौं । सरकारले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार, लेखक एवम् स्तम्भकार कृष्णमुमारी भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गोविन्द पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई सो पदमा नियुक्त गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण पनि मागेको छ । सरकारले उखु उत्पादक किसान, चिनी उद्योग र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक रणनीति तय गर्न राष्ट्रिय योजना आयोकका कृषिसम्बन्धि सदस्यको संयोजकत्वमा उद्योग, कृषि, अर्थ मन्त्रालयका सहसचिव र उखु किसान संघ, चिनी उद्योग संघ र उपभोक्तासँग सम्बन्धित संस्थाहरु रहेको ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

चिनी र चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न सरकारले सो कार्यदल गठन गरेको हो । मन्त्रिपरिषद बैठकले उर्जाको क्षेत्रमा लगानी बढाउन विश्व बैंकबाट ११ अरब ६३ करोड ऋण सहायता लिनेसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ सचिवलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी सिन्धुली सडक सुधारका लागि जापान सरकारले दिने १ अरब ४ करोड अनुदान सहायता स्विकृत पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

सरकारले नागरिक लगानी कोषको संचालकमा डा।रामचन्द्र भट्टराईलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । आइतबारकै बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बृद्धि गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको हो । श्रमजीवि पत्रकार र सञ्चार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले बृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसअघि श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा सरकारको यो निर्णयसँगै अब उनीहरुको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय पुगेको छ । सरकारको सो निर्णय कार्तिकबाट लागू हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभा बैठक र कोष्टारिकामा आफू नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भ्रमणबारे मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए ।