केके मानन्धर
असोज १९,
भक्तपुर । भक्तपुरको टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले यस वर्षको ‘भाजुविर सिरपा’ जितेको छ । लक्ष्मीप्रसाद मानन्धरले मौलिक तथा लोपोन्मुक बाजा अर्थात ‘पच्छिमा’ बजाएर प्रतियोगिता जित्दै गुथीलाई नगद रु। ५० हजार दिलाउन सफल भए । देशभरका मानन्धर समुदायको साझा संस्था केन्द्रिय मानन्धर संघ अन्तर्गत भाजुविर सिरपा उपसमितिले काठमाडौंमा लोपोन्मुक बाजा बजाउने प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा थिमिको सिवाः साय्मि खलःका नजरमान मानन्धर र भक्तपुर कै साःकोलान शिवरात्री गुथिका विष्णुबहादुर मानन्धरले क्रमशः आ–आफ्ना संस्थालाई दोस्रो र तेस्रो पुरस्कार दिलाए । दोस्रो भएको टोलीलाई तीस हजार र तेस्रोलाई बीस हजार नगद दिइएको छ । ‘मौलिक बाजा लोप हुने स्थितिमा पुगेको छ । यसलाई संरक्षण गर्नुपर्छ । त्यसैले पनि मैले २०४३ सालदेखि बाजेको सम्झनामा बाजा प्रतियोगिता आयोजना गर्न अक्षयकोष बनाइदिएको छु ।’ पूर्व सांसद तथा पुरस्कारका दाता लक्ष्मीदास मानन्धरले बताए । उहाँको भनाई अनुसार पनि ३३ वर्ष यतादेखि धाः बाजा, खिं बाजा तथा अन्य मौलिक बाजा संरक्षणको लागि पहल हुँदै आएको छ ।
‘अहिले मौलिक बाजालाई सहि ताल र तरिकाले बजाउने व्यक्ति खोज्नुपर्ने अवस्थामा छ । त्यस मध्ये ठाउँ अनुसार बाजाको बोल र ताल फरक हुने भएर त्यसको मौलिकता फरक छ ।’ दोस्रो पुरस्कार जितेका नजरमान मानन्धरले बताए । मानन्धरले बताए अनुसार पच्छिमा बजाउनको लागि एकैले हुँदैन, त्यसको लागि ताः, ख्वालीमाली, म्वाय्ली, बाँसुरी वा अन्य बाजालाई सहायक बाजाको रुपमा बजाउनुपर्ने हुन्छ । हुन पनि पछिल्लो समय नौ बाजा अन्तर्गतका पच्छिमा, नगरा, डबडब, कोंचाखिं लगायत अन्य थुप्रै बाजा लोप हुने स्थितिमा पुगेको छ । यसलाई संरक्षण, सम्वद्र्धन गर्ने र बजाउने व्यक्तिको पुस्तान्तरण आवश्यक छ ।
यो वर्ष आयोजित प्रतियोगितामा काठमाडौंका चस्वाँद्व मानन्धर सनागू खलः, पाक्व पुखुद्याः मानन्धर सनाः खलः, थँहिटी मानन्धर गुथि, साँखुको सक्व मानन्धर गुथि, भक्तपुरको पुलांसः शिवरात्री गुथि, तापालाछी, साःकोलान शिवरात्री गुथि, बनेपाको वाङख्यो दाफा भजन खलः, मध्यपुरको थिमि मानन्धर संघ, सिवाः साय्मि खलः लगायत १० टोलीको सहभागिता थियो । निर्णायकको रुपमा मौलिक बाजाका ज्ञाता क्रमशः न्हुछेबहादुर डंगोल, धर्म मुनिकार र सूर्यनारायण महर्जन उपस्थित थिए ।