असोज १४,
काठमाडौं । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौं, सुनौली, बेनी र मालढुङ्गाबाट सवारी साधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पुण्यभूमि मानिन्छ । विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ । ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथस्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन् ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । तीर्थालुलाई लक्ष्य गरी पोखरा विमानस्थलबाट समिट र तारा एयरलायन्सले दैनिक पाँच/पाँच उडान गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।
पाँच वर्षअघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ । धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन् । स्रोह्रश्राद्ध शुरु भएयता होटेलमा दिनप्रतिदिन तीर्थालुको चाप बढेको जोमसोमका स्थानीयले बताए । बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसंँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको बताउँदै मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले पितृ पक्षका समयमा भने मन्दिरमा दैनिक पाँच सयदेखि एक हजारसम्म तीर्थालु आउने गरेकोे जानकारी दिए ।