अविवाहित किशोरीको तीन पटक पटकसम्म गर्भपतन

86

असोज १३,

काठमाडौं । सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन्। उनी काठमाडौंकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसूतिगृहमा केही समयअघि भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन्। अविवाहित उनले केटा साथीले गर्भनिरोधक साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन्। सीमा मात्र होइन, प्रसुति गृहमा दिनहुँजसो स्कुल–कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्।उनले आफूले तेस्रोपटक गर्भपतन गर्न आएको बताएकी थिइन्। उनले भनिन्,‘ तीनैपटक फरकफरक ठाउँमा गर्भपतन गराएँ, एकै ठाँउमा जान लाज लाग्यो।’

सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन, अविवाहित किशोरीले पनि गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेका छन्। सिन्धुली घर बताउने दीपा (नाम परिवर्तन) कलेजकै डे«समा अस्पताल पुगेकी थिइन्। केही समय कुराकानी भएपछि उनले मलाई सोधिन्। हजुर विवाहित हो र ? मैले केही भन्न नपाउँदै उनले आफैं थपिन्, ‘हामी अनम्यारिड केटीहरुलाई कति गाह्रो है ? ’

मैले उनको कुरा पहिला त बुझिनँ। उनले मलाई पनि गर्भपतनका लागि त्यहाँ आएको ठानिछन्। म काठमाडौंको एक क्लिनिकमा स्त्रीरोग विशेषज्ञलाई भेट्न गएको थिएँ, अन्र्तवार्ता लागि। उनी भने त्यहाँ गर्भपतनका लागि आएकी रहिछिन्। मैले उनलाई यति सानै उमेरमा गर्भपतन गराउने हो तरु भनेर सोधें उनले भनिन्, ‘आजकल केटा साथी सबैको भइहाल्छ, हरेक दिन भेट हुँदा यस्तो भयो, केटाहरु गर्भनिरोधक साधन प्रयोग गर्नै मान्दैनन्, अनि गर्भ रह्यो। विहे भएको छैन, कसरी जन्माउनु ? ’ गर्भपतनसम्बन्धी पछिल्लो परिस्थिति डरलाग्दो बन्न थालेको छ। गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरी छन्। आधुनिकता र सोचमा आउन थालेको उदारपनले किशोरीहरुलाई शारीरिक रुपमा कमजोर बनाउँदैछ। अहिले विवाहित मात्र होइन, गर्भपतन गराउने क्लिनिक, अस्पतालहरुमा अविवाहित किशोरीको भीड छ।

अविवाहित मात्र होइन, विवाहित महिलाले समेत चारपाँच पटकसम्म गर्भपतन गराएको भेटिन्छ। सन्तान भइसकेका महिलाले पनि अनिच्छित गर्भ रहेको भन्दै दुई/तीन पटकसम्म गर्भपतन गराएका छन्। केही समयअघि प्रसूतिगृहमै भेटिएकी एक महिलाको छोराको आशामा पाँच छोरी जन्मिए। त्यसपछि शारीरिक समस्या देखिएपछि आफूले दुई पटक गर्भपतन गराएको बताएकी थिइन्। धेरैले इच्छा नहुँदा पनि श्रीमान वा केटा साथीले सुरक्षाका साधन नअपनाउँदा पनि किशोरी तथा महिलाले गर्भपतन गराउनुपरेको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंको आव २०७३/०७४ को तथ्यांकअनुसार गर्भपतन गराएका २० वर्षमुनिका तीन हजारभन्दा बढी किशोरी थिए।

सरकारले सुरक्षित गर्भपतनलाई २०५९ असोज १० मा कानुनी मान्यता दिएको थियो। अहिले यो विषयलाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा समावेश गरिएको छ। तर उक्त सुविधालाई गलत रुपमा प्रयोग भइरहेको सरोकारवालाहरु बताउँछन्। उनले विपरीत लिङ्गी साथी बनाउने शारीरिक सम्बन्धलाई मनोरञ्जनको रुपमा लिने गलत प्रवृत्तिका कारण गर्भपतनले डरलाग्दो अवस्था सिर्जना गरिरहेको छ। यस्तो अवस्था आउन नदिन यौन शिक्षालाई सही तरिकाले बुझाउन आवश्यक रहेको उनको भनाइ छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण माहाशाखाका अनुसार नेपालमा प्रतिवर्ष १ लाख ८६ हजार १४४ महिला तथा किशोरीले गर्भपतन गर्ने गरेको अनुमानित तथ्यांक छ। यस तथ्यांकलाई आधार मान्दा हरेक महिना १५ हजार ५१२, प्रतिदिन ५२० र प्रतिघण्टा २१ जना महिला तथा किशोरीले गर्भपतन गरिरहेका छन्।

गर्भपतनलाई परिवार नियोजनका रुपमा लिई गलत प्रयोग

गतवर्ष सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो। नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदैआएको तथ्यांकले देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले गएको पाँच वर्षभित्र गर्भपतन गराउनेमध्ये आधाभन्दा बढीले थप बच्चाको चाहना नभएकोले गर्भपतन गराएको तथ्यांक देखाएको थियो।
गत पाँच वर्षको अवधिमा गर्भवती भएका ८१ प्रतिशतले जीवित बच्चा जन्माए पनि ९ प्रतिशतले गर्भपतन गराएका थिए। सबैभन्दा बढी गर्भपतन गराउनेमा ३५ देखि ४९ वर्ष उमेरका २७ प्रतिशत महिला छन्। सम्पन्न परिवारका १६ प्रतिशत महिलाले गर्भपतन गराउने गर्छन्। एनले पाँच वा सोभन्दा बढी गर्भधारण गरेकामध्ये २१ प्रतिशतले गर्भपतन गराउने गरेको, पहिलो पटक गर्भधारण गरेकामध्ये २ प्रतिशतले गर्भपतन गराउने गरेको जानकारी दिए। महत्वपूर्ण कुरा त के भने, अझै पनि ३ प्रतिशत महिला गर्भमा छोरी भए गर्भपतन गर्न सकिन्छ भन्ने सोच्छन् भन्ने तथ्यांकले देखाएको थियो।

केही समयपछि बच्चा जन्माउन भन्दै गर्भपतन गराउनेहरु १२ प्रतिशत, ९ प्रतिशत महिलाले ढिलोगरी बच्चा जन्माउन गर्भपतन गराएको सर्वेक्षणमा पाइएको छ। यसले के देखाउँछ भने अझै पनि नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेर परिवार व्यवस्थापन प्रणाली स्थापित भएको छैन। उक्त सर्वेक्षणले आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्नेहरु ५३ प्रतिशत मात्र भएको देखाएको छ। नेपालले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतनलाई परिवार नियोजनकै रुपमा लिने र अत्याधिक गर्भपतन गराउनेको संख्या बढेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ वैद्यले बताइन्।

असुरक्षित गर्भपतन पनि अर्को चिन्ताको विषय
सरकारले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराउन सक्ने व्यवस्था गर्दागर्दै पनि प्रतिवर्ष ५८ प्रतिशत महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराइरहेका छन्। विश्वमा प्रत्येक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपर्तन गराउँछन्। यसबाट प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु हुन्छ भने ५० लाख महिलामा दीर्घकालीन समस्या हुन्छ।                                                        –हामीले स्वास्थ्य खबर डटकमबाट साभार गरेका हौ ।