भक्तपुरको बालकोट-सिरुटार सडकले ‘जनप्रतिनिधीलाई गिज्यायो’

285

भदौं १९,
रमेश गिरी
भक्तपुर । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका–२ बालकोट सडकखण्ड अचेल हिँडिसक्नु छैन । बालकोट २ धारापाटीबाट ललितपुरको महालक्ष्मी नगरपालिकास्थित चाँगाथली जोड्ने सडकखण्डमा पनि खाल्डाखुल्डीले पानी जमेको छ । काठमाडौँ उपत्यका नगरविकास आयोजनाले असारको अन्तिममा सडक निर्माण गर्न लगाउदा भक्तपुर र ललितपुरका बासिन्दाले समेत सास्ती खेप्दै आएका छन् । त्यो सडकले बालकोट पाटीधारादेखि महेन्द्रशान्ति अगाडि, माइक्रोबस पार्क र सिरुटारको सिमानाको पुलसम्म ठूलठूला खाल्डाले वडा नं २ का वडा अध्यक्षदेखि वडा सदस्यहरुलाई दैनिक गिज्याइँरहँदा पनि टुलुटुलु हेरेर बसेका छन् । दुईपाङ्ग्रे सवारीसाधन पटक÷पटक खाल्डोमा पर्छन्, सडक जाम पनि उत्तिकै हुन्छ साथै पानी परेका बखत महेन्द्र शान्ति अगाडिदेखि माइक्रोबस पार्क र सिरुटार पुलसम्म खोला बगेजस्तै गरी सडकमा पानीको ठूलो भेल बग्छ ।

स्थानीय राजकुलो मिच्ने र साविकको पानीको निकास थुनेर केही स्थानीयवासी र महेन्द्र शान्ति माविले पर्खाल लगाएकाले असारदेखि बगेको पानीको भेल बाटोबाटै बग्दा कालोपत्रे सडकमा भ्वाङै्भ्वाङ भएर दुर्घटना बढ्दा पनि सडक सुधारमा कसैको चासो छैन । ग्राबेल हाल्न पटक-पटक २ नं वडा कार्यालयलाई भन्दा नमानेपछि वडा नं १ ९सिरुटार०ले बालकोटमा ग्राबेल हालेको थियो तर सडकमा पानी बग्दा माटो भएको ग्राबेल सबै बगाएको स्थानीयवासीको भनाइ छ । डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी त्यो सडक देखेर रुनै मन लागेको बताउँछन् । उनी भन्छन्, ‘सडकको कन्तबिजोग छ, यो सडक देखेर मेरो पनि आँखा रसायो, मन दुख्यो, यहाँका बासिन्दाले साह्रै सकस भोगेका रहेछन् ।’ अब स्थानीयवासी सरकार र प्रदेश सरकारले यहाँका सडक हेर्नुपर्ने उनको भनाइ छ । प्रदेश सदस्य शशीजङ्ग थापाले उक्त सडकका लागि रु ५० लाख बजेट विनियोजन गरिएको र बजेट आएलगत्तै काम शुरु हुने उल्लेख गर्छन् । उक्त सडकमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिकाले ग्राबेल हाले पनि वर्षा भएकाले सडकमा समस्या आएको उनको भनाइ छ ।