भदौ १७,
बेइजिङ । चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो [स्वाइन फेभर } को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो । उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ । चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ । रोग लायोनिङबाट दक्षिणी क्षेत्रमा करिब एक हजार किलोमिटर टाढा भेटिएको थियो । यसबाट चीनका सबै सुँगुर फार्मलाई रोगबारे चनाखो बनाइएको थियो ।
रोगको सङ्क्रमण फैलिइरहेको भएपनि कृषि मन्त्रालयका प्रवक्ताले हाल ‘रोग सामान्यतया नियन्त्रणमा’ रहेको बताउनुभएको सिन्ह्वाले जनाएको छ । गत हप्ता संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले उक्त रोग एशियाका अन्य भागमासमेत फैलिनसक्ने चेतावनी दिएको थियो । अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ ।