साउन ३०,
काठमाडौं । गएको साता प्रधानमन्त्री कार्यालयका ३ जना सचिवहरु ७ वटै प्रदेशमा कर्मचारीको अवस्था, प्रदेशको समस्या, स्रोत साधनको अवस्थाबारे बुझ्न स्थलगत अध्ययनका लागि गए । उनीहरुको टोलीमा प्रधानमन्त्री कार्यालय तथा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिवहरु पनि सहभागी थिए । मन्त्रालयका सचिवहरु केदारबहादुर अधिकारी नेतृत्वको टोली प्रदेश ५, ६ र ७ मा, सचिव लालसशंकर घिमिरेको टोली ३ र ४ मा तथा अर्का सचिव लक्ष्मण मैनालीको टोली प्रदेश १ र २ मा स्थलगत अध्ययनका लागि पुगेका थिए । उनीहरुले प्रदेशको अवस्था, कर्मचारी तथा कार्यालय व्यवस्थापन, प्रदेशका समस्थाहरु लगायतका बारेमा अवलोकन गरेका थिए । जनशक्तिको अभाव गएका कर्मचारी ढुक्कसँग बसेनन्प्रदेशमा अवस्था बुझ्न गएको टोलीले प्रायः सबै प्रदेशमा कर्मचारीमा एउटै समस्या कर्मचारी बस्न नमान्ने भेट्टायो। प्रधानमन्त्री कार्यालयमा रहेको शासकीय सुधार महाशाखाका सहसचिव यमलाल भुसालले केन्द्रबाट गएका कर्मचारी प्रदेशमा ढुक्कसँग नबस्ने समस्या रहेको बताए । सचिव केदारबहादुर अधिकारीको टोलीमा सहसचिव भुसाल पनि थिए । कर्णाली प्रदेश र ७ नम्बर प्रदेशभन्दा ५ नंबर प्रदेशमा कार्यालय व्यवस्थापनमा समस्या रहेको उनले बताए । प्रदेशमा कार्यालय स्थापना गरेर सबै काम शुरुको अवस्थाबाट गर्नुपर्ने, स्थापित संस्थामा बसेको जस्तो सजिलो नभएका कारण पनि दरबन्दीका कर्मचारीले पनि सरुवा खोज्ने समस्या रहेको अध्ययन टोलीले पाएको थियो ।