एक वर्षमा २६ गैंडाको प्राकृतिक मृत्यु

263

साउन २०,
चितवन । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । तर, यो तथ्यांक निकुञ्जले अपेक्षा गरेको भन्दा ज्यादै धेरै हो । यतिका संख्यामा गैंडा मर्नु कारण प्राकृतिक देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाएका छन् । ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई पनि अनौठो लागेको छ,’ प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘यसको अनुसन्धान राष्ट्रिय निकुञ्ज विभागले गरिरहेको छ प्रतिवेदन सार्वजनिक भएको छैन । ‘

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैंडा, बच्चा पाउन नसकेरदेखि जुँधेरसम्म मर्ने गरेका छन् । गएको वर्ष साउन २८ र २९ गते आएको बाढीले बगाएर समेत गैंडा मरे । बुढो भएर मर्ने संख्या त छँदैछ । गैंडाको औसत आयु ४० वर्षको हुन्छ । २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसयता तस्करले गैंडा मार्न भने सकेका छैनन् । तस्करले गैंडा मार्ने क्रम रोकिएपनि प्राकृतिक कारणले भने गैंडा मर्ने क्रम बढेको देखिन्छ । यसले संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ । गैंडाको संख्या थपिँदै जाँदा वासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्नसक्ने हुँदा समयमै सजगता अपनाउन अध्ययन थालिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको बताए । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैंडा मर्ने गरेका छन् ।

गैंडाको वार्षिक वृद्धिदर पाँच प्रतिशत छ । केही वर्षयता चितवनसहितका निकुञ्जमा चोरी शिकार झन्डै झण्डैं नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ । सिमसार र घाँसे मैदान व्यवस्थापनमा ध्यान नदिँदा बर्सेनी गैंडाको अप्राकृतिक मृत्युदर पनि बढिरहेको छ । पानीका घोल नहुँदा, ओहोरदोहोर गर्ने बाटो सहज नहुँदा पनि समस्या हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

कहिले कति मरे गैंडा ?

प्राकृतिक कारणबाट गैंडाको मृत्यु भएको संख्या २६ अहिलेसम्मकै ठूलो हो । गत वर्ष मृत्यु भएका गैंडामध्ये सबैभन्दा बढी बुढो भएर कालगतिले मरेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार गत वर्ष कालगतिले ८, जुधेर ४, बाढीमा परेर ४, बाघको आक्रमणबाट ४, रोगका कारणले ३, ब्याउन नसकेर १ र कारण नखुलेका २ गरी २६ गैंडाको मृत्यु भयो । त्यसमा भाले १२, पोथी १० र नखुलेको ४ गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अनलाइनखबरलाई जानकारी दिए । चितवन राष्ट्रिय आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेका थिए । त्यो मध्ये एउटा गैंडा तस्करले मारेका थिए । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन् । सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए । अनलाइन खबर