असार ३,
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संञ्चालन नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागु गर्न संसदको ध्यानाकर्षण गराएको छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयपछि सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दै गर्दा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै कार्यसञ्चालन नियमावलीको ५६ को व्यवस्थालाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन्। नियमावलीको ५६ को व्यवस्थामा “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्षरुपमा महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेश्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्नेछ” भन्ने उल्लेख छ। सांसद रिजालले आइतबार असार महिनाको पहिलो हप्ताको पहिलो बैठक भएकाले तत्काल प्रधानमन्त्रीसँग प्रश्न सोध्ने नियामावलीमा रहेको व्यवस्था कार्यान्वयन गरी जनताप्रतिको संसदको उत्तरदायित्व निर्वाह पूरा गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। उनले संसदमा प्रमुख प्रतिपक्षीको उपस्थिति कमजोर पार्ने सत्तापक्षको ध्येय पुरा नहुने चेतावनी दिए। उनले भने, “ कांग्रेसको उपस्थिति नै पच्न छोडिसकेको छ। कांग्रेस कहिले जाला भनेर माला फेराउन थालिएको छ। कांग्रेस जाँदैन यहाँबाट।” कांग्रेस जनताको पक्षमा बलियोसँग उभिएर संसद र सरकारलाई जनताप्रति उत्तरदायि बनाउने उद्घोष उनले गरेका थिए। उनले भने, “यता तिर सिट खाली भयो भने खुट्टा पसार्न पाइँदैन। बरु हाम्रो छेउमा तपाईले हेर्दा देखिने सरकारका कुर्ची खाली हुने कुरा सुनिदैछ। त्यताको कुर्ची खाली भयो भने अलि राम्रोसँग जीउ तानेर बस्न पाउनुहोला। त्यतै जीउ तानेर बस्ने उद्योग तर्फ लाग्नु। यता तर्फ ध्यान दिनु पर्दैन।” सांसद रिजालले नियमावलिको ५६ को व्यवस्था प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने अधिकार जनताको अधिकार भएकाले सो अधिकारको तत्काल व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले नियमावलिको परिच्छेद ९ र ५६ प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकपछि छिट्टै कार्यान्वयन गरिने बताए।