असार १,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिनुभएको छ । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकमा स्थायित्व र दिगो शान्तिसहित आर्थिक समृद्धि हासिल गर्ने विषयलाई आयोगले आत्मसात् गर्नेछ, आयोगले तयार पारेको रणनीतिक योजनाबाट त्यो उद्देश्य हासिल हुनेछ ।’’
आयोगको महत्व, गरिमा र प्रतिष्ठामा कहीँ कतै आँच आउने काम कसैबाट हुनुहुन्न भन्ने पक्षलाई मनन गर्न सुझाव दिँदै उहाँले काम कारवाहीमा निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता सदासर्वदा कायम गराउने मूल दायित्वलाई नभुल्न निर्देशन दिनुभयो ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले निष्पक्षता र स्वच्छताको प्रतीक बनेको मुलुकको सबैभन्दा जेठो संवैधानिक अंगका रुपमा रहेको लोकसेवा आयोग शिक्षित युवाको आशाको केन्द्र बनेको बताउनुभयो । आयोगले सञ्चालन गर्ने परीक्षाका लागि ‘अनलाइन पेमेन्ट’का लागि हामीले धेरै प्रयास गर्दा पनि समय लाग्ने देखिएपछि जिल्लामा हुलाकमार्फत र काठमाडाँै उपत्यकामा बैँकसँग सम्झौता गरी आयोग धाउनु नपर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।