असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

181

जेठ २८,
तेह्रथुम । सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् । गत चैतबाट जिल्ला स्वास्थ्य कार्यालयले आइपास नेपालको सहयोगमा जिल्ला अस्पतालसहित मातहतका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको थियो । त्यसयता सुरक्षित गर्भपतनका लागि चौतर्फीरुपमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।

समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले पनि वसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा यौन तथा प्रजनन अधिकार सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । मार्च ८ मा महिला दिवसको अवसरमा महिला अधिकारकर्मी र सरोकारवालाले जिल्लामा आगामी दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्यमा पु¥याउने घोषणा गरेका थिए ।