काँग्रेसले युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्छ

170

जेठ ११,
काठमाडौँ । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ ।
गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,” भन्नुभयो । सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी काँग्रेस भएको बताउँदै उहाँले भन्नुभयो, “जनताले काँग्रेसबाट नयाँपन खोजेको छ ।”
सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको काँग्रेसलाई बलियो अवस्थामा फर्काउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको काँग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।