राष्ट्रकवि घिमिरलेलाई आज थप उपचारका लागि भारत लैजादैं

96

जेठ ९,
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भोलि भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उहाँले बताउनुभयो । छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उहाँलाई भारत लैजाने तयारी गरिएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिनुभएको थियो ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताउनुभयो । उहाँले घिमिरेको पहिलेको भन्दा स्वास्थ्य अवस्था राम्रो भएको बताउनुभयो । विसं १९७६ असोज ७ गते जन्मिनु भएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

–––