बैशाख २०,
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई दिइयोरबनाइयो ।
राजनीति निर्मम हुन्छ भन्ने सत्यता वैद्यको हकमा पनि देखियो । पार्टी फुटाउन उक्साउने र साथ दिने दुवै अहिले वैद्यसँग छैनन् । जे मुद्दा लिएर पार्टी विभाजन भएको थियो, त्यही मुद्दा समातेर वैद्यले अहिले राजनीति गरिरहेका छन् । तर, सङ्गठन कमजोर छ, त्यसैले राष्ट्रिय राजनीतिमा वैद्यको हस्तक्षेपकारी भूमिका छैन ।
पार्टी विभाजन ताकाको घटनाक्रम नजिकबाट नियालेकाहरूको बुझाइ के छ भने– माओवादी विभाजनमा वैद्यको भन्दा विप्लवको हात धेरै थियो । कुनै बेला प्लेकार्ड र ब्यानर बोकेर बादल र विप्लव वैद्यसँग सडकमा देखिन्थे । दृश्य बदलिएको छ । हालै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले सडकमा मार्चपास गर्यो । तर, वैद्यसँग उनका पुराना सहकर्मी सीपी गजुरेल मात्रै देखिए । वैशाख १४ गते भएको ‘रेडमार्च’मा वैद्य रातो टिसर्टमा सडकमा देखिए ।
प्रचण्डसँगको घनिष्ट सम्बन्ध तोड्ने वैद्यको कदमलाई विप्लवले एउटा समय साथ त दिए । तर, निरन्तरता दिएनन् । निरन्तता मात्रै नदिएका होइनन्, ‘बूढाहरूले क्रान्ति गर्न सक्दैनन्’ विप्लवले वैद्यको ‘अपमान’ पनि गरे ।
एउटा समय यस्तो थियो, प्रचण्डविरुद्ध आक्रमक गर्न वैद्यभन्दा बादल अगाडि थिए । तर, तिनै बादलले पनि वैद्यलाई एक्लै छाडेर प्रचण्डसँग हात मिलाए । प्रचण्ड–वैद्यबीच घनिष्ट सम्बन्ध हुँदाहँुदै पार्टी विभाजनमा उक्साउने विप्लव र बादलले वैद्यलाई धोका दिए । भन्ने गरिएको छ– यदि त्यो समय वैद्य विप्लवको उक्साहटमा नपरेको भए आज वैद्य प्रचण्डसँगै हुन पनि सक्थे । १० वर्षे सशस्त्र युद्धसँगै लडेका प्रचण्ड, वैद्य, बाबुराम, विप्लवको अहिले छुट्टाछुट्टै राजनीतिक चुल्हो छ । कम्युनिस्ट आन्दोलनमा तीन दशक लामो सहकार्य र सम्बन्ध रह्यो प्रचण्ड–वैद्यबीच । एउटै पार्टीमा बसेर लामो सहकार्य गरे पनि उनीहरूबीच राजनीतिक वैचारिक कुरामा चर्को विवाद भैरहन्थ्यो । राजनीतिमा लागेको तिथिमिति केलाउँदा वैद्य गुरु, प्रचण्ड चेलाजस्तै हुन् । प्रचण्डले डिभोर्ससँगै पुनर्मिलनको अनुभव लिन पाए तर वैद्यसँग डिभोर्सको मात्र अनुभव छ । प्रचण्ड, बाबुराम, बादल र विप्लव सबैसँग अलग भएर बसेका छन् वैद्य । –रातोपाटीबाट साभार