बैशाख ८,
भक्तपुर । हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको आठ हप्ता भएको छ । अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठौं हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो । गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हुँदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, विद्यार्थी, स्थानीयवासी लगायत करीब ५०० जनाको सहभागिता रहेको थियो । यो हप्ता हनुमन्ते सफाइमा ११ टन फोहोर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिएका छन् । अभियानमा उत्साहजनक रुपमा सहभागिता बढेको बताउँदै अहिलेसम्म १०१ टन फोहोर संकलन गरिसकेको जानकारी दिए ।