चालककै पहलमा बन्यो नमूना सडक

296

चैत २७,
म्याग्दी । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत तथा स्तरोन्नति गरी नमूनायोग्य बनाएका छन् । दैनिक यात्रु लिएर गाउँसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका एक युवाले दुई महिनासम्म गाडी चलाउने पेशालाई छोडेर सडक स्तरोन्नति गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्ली जोड्ने सडकमा नगरपालिकाबाट विनियोजित बजेटबाहेक पनि स्थानीयको जनश्रमदानबाट सडकका जोखिमपूर्ण ठाउँको मर्मत तथा स्तरोन्नति गरी नमूना बनाइएको छ । सदरमुकाम बेनी नजिक भए पनि जिल्लाकै जोखिमपूर्ण घुम्टी, साँघुरो तथा भिरालो सडकका कारण अति आवश्यकबाहेक पैदलयात्रा गरी सदरमुकाम आउने भकिम्लीबासीको समस्यालाई समाधान गर्न सडक निर्माण उपभोक्ता समितिको जिम्मेवारी लिएर बस चालक समेत रहेका भानुभक्त थापाले जोखिमपूर्ण सडकमा सहजै आवतजावत गर्ने बनाएका हुन् । रासस