लामखुट्टे धपाउन घुरबाल्दा……

209

चैत १२,
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।
स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो ।आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् । रासस