कविताः ‘म कवि हैन’

387

-राजकुमार लामिछाने
मेरो रचनामा छन्द छैन
अक्षर , मात्रा, र्हस्व, दिर्घको
परिधिमा म रहिन
शास्त्रीय ज्ञान अनि शब्दजालको
गहिराइमा म गैन
जटिल संरचनाको जालमा
त्यति मोहित भैन
त्यसैले
म कवि हैन ।

कलम बोकेर कपिका पानामा
के नै लेख्नु थ्यो र
मुर्तिबिहिन मन्दिरको छानामा
के नै देख्नु थ्यो र
कोइली रोहिरहदा बिरही भाकामा
पुट्ठो छोराको शिर रेटिएको देखेकी
ती आमाको आखामा
सृष्टि गर्ने हात मरुभूमिमा रगटिदा
उजाड भएका मेरा गाउका पाखामा
तिमी खै के देख्छौ र लेख्छौ
कुन भाव र रसमा टेक्छौ
खै कुन लय आउँछ तिमी भित्र
कुन शब्द भण्डार पाउछौ र गाउँछौँ मित्र
म त झनै निश्ब्द हुन्छु
अवाज पनि फुट्दैन
भित्र भित्रै भक्कानिएर रुन्छु
म त आफै पग्लिएर सिद्धिदै छु
जसरी सकिन्छ मैन
मनमा कतैपनी छैन
रत्तिभरी चैन
त्यसैले त भन्दैछु
म कवि हैन ।

तिमी आफ्नो कृतिको चाङ्ग गन्छौ
यति उति यस्तो उस्तो कबिता लेखे भन्छौ
तिमिलाइ त लेख्ने सुनाउने सबै कुरा जुर्छ रे
शान्त स्थान पुग्ने बितिकै फुरुरु फुर्छ रे
शान्त स्थान
शान्त स्थान त मेरो पनि रोजाइ हो
शान्त स्थान मेरो जिबन भरिको खोजाइ हो
म चै किन भेट्दिन
म चै किन देख्दिन
किन भेट्छु खाली
मधेसी , पहाडी, हिमाली
अचेल किन कसैले भन्दैन
हामी सबै नेपालि
किन देख्छु खाली
शान्ती क्षेत्रमा हिंसाका माली
के देख्छु रास्टृय झण्डा बलेको
लौन कस्तो भेटे सिमा मिचिदा
गोर्खाली गलेको
कस्तो देखे
जनता निर्धा अनि ब्वासाको शासन चलेको
धर्मको नाम दिएर भक्तजनलाइ नै
अधर्मिले छलेको
बिच्छी मेरो सुरक्षामा आइरहेछ
ब्वाँसोको मित्र स्याल
गिताको कसम ख्वाइरहेछ
झिंगा दिन सफा गर्न आएको छ
लामखुट्टेले मेरो भरण पोषणको
जिम्मा पाएको छ
लौ हेर बादरले पुनर्निर्माणको
गित गाएको छ
यस्तो बेला हातमा ठेला उठाउने
बाझो जमिनमा सृष्टिको मुल फुटाउने
किसानको
मनमा शान्ती होला
आफ्नो सीप लगाउदै पसिना बगाउदै
देश निर्माण को जिम्मेवारी बोक्दै घन ठोक्दै गरिरहेको मजदुरको मनमा शान्ती होला
अनि म तिम्रो मुर्दा शान्तिलाइ कसरी अंगालौ
कहाँबाट शब्द हरु संगालौ
र लेखु कबिता
म सँग उम्हु यो सामर्थ्य छैन
र त म कबिता लेख्न सामर्थ्य भैन
मेरो रचनामा छन्द छैन
अक्षर , मात्रा, र्हस्व, दिर्घको
परिधिमा म रहिन
शास्त्रीय ज्ञान अनि शब्दजालको
गहिराइमा म गैन
जटिल संरचनाको जालमा
त्यति मोहित भैन
त्यसैले म कवि हैन ।।
चाँगुनारयण- ६ भक्तपुर