माधव नेपालसँगको टकरावबारे झलनाथलाई प्रश्न

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीमा संकट झन् गहिरिँदै गएको छ। झन्डै चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीमा अहिले अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच यसरी द्वन्द्व चर्किएको छ, जसले उनीहरू एउटै पार्टीका सहयात्रीभन्दा बेसी एकअर्काका प्रमुख शत्रु हुन् भन्ने भान हुन्छ। उनीहरूले एकअर्कालाई ‘पार्टी नै छाडेर गए हुने’सम्मको अभिव्यक्ति तारन्तार दिइरहेका छन्। एकअर्का विरुद्धको तिखो प्रहार र टीकाटिप्पणी नरोकिएपछि शनिबार भने दोस्रो तहका नेताहरूको अग्रसरतामा माधव–झलनाथबीच भेटवार्ता भयो। नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल र महासचिव घनश्याम भूसालले उनीहरूलाई छलफल गराएका हुन्। केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालले आफ्नो भनाइबारे प्रष्टोक्ति दिन खोजेका थिए। त्यसक्रममा मार्गप्रशस्त गर्न माधव नेपाललाई खनालले आग्रह गरेका थिए। एकीकृत समाजवादीमा देखिएको यही पछिल्लो विवाद, अध्यक्ष नेपालसँग भएको भेट र यसपछिको सम्भावित परिस्थितिबारे नेता खनालसँग गरिएको संक्षिप्त कुराकानी:–अध्यक्ष माधव नेपाल र तपाईँबीच चर्कै आरोप–प्रत्यारोप सुनिँदै आएका छन्, उहाँसँग खास तपाईँको पछिल्लो विमति चाहिँ कहाँनिर हो ? बाहिर नै ड्याङ्गै भन्नुपर्ने खालको विमति त होइन। यो पार्टीभित्रै चलिरहेको छ। छलफल चल्दैछ।

हिजोको भेटमा के के कुरा भए त ?

हिजो बिहान एकछिन छलफल त भयो। तर त्यसमा ठोस कुरा केही भएन। आ–आफ्नो कुरा एकले अर्कोलाई राख्ने काम भयो। तर समस्या समाधान भएको छैन।

समाधान हुनुपर्ने मुख्य समस्या चाहिँ के हो ?

अहिले नेकपा एकीकृत समाजवादी अलि क्रान्तिकारी वैचारिक, राजनीतिक, कार्यदिशा, नीति, सिद्धान्तको आधारमा अगाडि बढेको छैन। वैज्ञानिक समाजवादको लक्ष्यतर्फ जान सकेको छैन। अहिले पनि पार्टीभित्र उही जबज–जबजको धङधङी मात्रै चलिरहेको अवस्था छ। त्यो धङधङीबाट मुक्त भएर पार्टीलाई क्रान्तिकारी कार्यदिशातर्फ, वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढाऊँ भन्ने कुरा मेरो हो। हिजो भेटमा पनि यी नै कुरा संक्षिप्तमा भए, सविस्तार भएको छैन। उहाँका कुराहरू सुन्न पाएको छैन, मैले नै पनि सविस्तार कुरा राख्न पाएको छैन। जे होस् भेटघाट भयो। त्यो राम्रो भयो। अध्यक्षलाई मार्गप्रशस्त गर्नुस् भन्नुभएछ, उहाँको जवाफ चाहिँ के रह्यो ? ती विषयमा छलफल हुन पाएको छैन। हिजो सुरुवात मात्रै भएको छ। फेरि भेट जारी राख्ने भनेका छौँ। अनि त्यसपछि मात्रै के के हो कुरा भन्ने टुंगो लाग्छ।